Saturday, June 23admin@onlinebbc.news

तीन दिनभित्र डा बाबुरामका दुई ‘नाटक’

राजनीतिको अर्को नाम नाटक पनि हो सायद। त्यसैले, नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले फागुनको अन्त्यताका दुई राजनीतिक नाटक प्रदर्शन गरेका छन्। प्रधानमन्त्री उपरको विश्वासको मत र राष्ट्रपति निर्वाचनमा गरी भट्टराईले दुईपटक नाटक गरेका हुन्।

पहिलो नाटक
प्रधानमन्त्री केपी शर्मा ओलीले २७ फागुनमा प्रतिनिधि सभामा विश्वासको मत लिए। अघिल्लो हप्ता नै इण्डोनेसिया प्रस्थान गरेका भट्टराई २६ फागुनमा मलेसियाको राजधानी क्वालालम्पुर आइपुगेका थिए। ओली उपर विश्वासको मतदान चल्दै गर्दा भट्टराई मलेसियामा गैरआवासीय नेपाली संघको कार्यक्रममा थिए।

प्रतिनिधि सभामा नयाँशक्तिबाट संयोजक भट्टराईमात्र छन्। भट्टराई आफू नेपालमै नरहेपछि यता पक्षविपक्षमा मतदान गर्ने कुरै थिएन। तर, नयाँशक्तिका सूचना तथा सञ्चार विभागप्रमुख विश्वद्वीप पाण्डले फेसबुकमार्फत् जानकारी गराए, ‘सरकारबारे नयाँ शक्ति पार्टीको निर्णय भनेको सरकार छ भनी विश्वास गर्ने तर विश्वासको मत नदिने हो।’

पाण्डेको फेसबुक स्टाटसमा ‘नयाँ शक्ति प्रतिपक्षी भई बस्ने र सरकारका कामलाई गुण र दोषका आधारमा मूल्यांकन गरी सही कामको समर्थन र गलत कामको विरोध र खबरदारी गरिने’ कुरा पनि उल्लेख थियो। भट्टराई नै नेपालमा नरहेको स्थितिमा यसरी ‘विश्वासको मत नदिने’ घोषणा गर्नु जरुरी नै थिएन।

प्रतिनिधि सभामा आफूमात्र रहेका र आफै बाहिर रहेका बेला सरकारको विपक्षमा मतदान गर्ने घोषणा गर्नु नाटक सिवाय केही थिएन। यदि साँच्चिकै काठमाडौं आएर भट्टराईले ओलीको विपक्षमा मतदान गरेको भए सरकारको विपक्षमा मतदान गर्ने घोषणाको औचित्य रहने थियो।

दोस्रो नाटक
भट्टराईले नेतृत्व गरेको नयाँशक्तिको तर्फबाट त्यो भन्दा पनि गजवको नाटक चाहिँ आज प्रदर्शन भयो। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताउँदै आजको निर्वाचनमा भाग नलिने निर्णय गरेको सो पार्टीले जनायो। पार्टी निर्णय भनिएपनि खासमा यो संयोजक भट्टराईकै निर्णय हो।

निश्चय नै, भट्टराई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका प्रबल पक्षपाती हुन्। तर, अप्रत्यक्ष रुपमा भट्टराईको मतपनि सम्बैधानिक राष्ट्रपतिको पक्षमा परिसकेको छ। किनभने, सम्बैधानिक राष्ट्रपतिको पक्षमा कांग्रेसलाई अघिल्ला निर्वाचनहरुमा नयाँशक्तिले मतदान गरिसकेको छ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गोर्खा र रसुवामा नयाँशक्तिको साथ पाएको कांग्रेस उम्मेदवारले विजय हासिल गरेका थिए। यसैगरी राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेस उम्मेदवारले नयाँशक्तिको मत पाए। नयाँशक्तिको मत पाएर निर्वाचित कांग्रेसका तिनै उम्मेदवारहरुले सम्बैधानिक राष्ट्रपतिको पक्षमा मतदान गरिसकेका छन्।

अघिल्ला चुनावमा सम्बैधानिक राष्ट्रपतिका पक्षधरलाई जिताउने, तर अहिले चाहिँ प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग गर्दै चुनाव बहिस्कार गर्ने भट्टराईको निर्णय राजनीतिक नाटक सिवाय अरु केही होइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel