Saturday, June 23admin@onlinebbc.news

धनी मानिस किन कञ्जुस हुन्छन् ?

क्लाउडिया हेमन्ड, बिबिसी फ्युचर
खर्च गर्न भनेपछि अति कञ्जुस मान्छे तपाईंले आँखैअघिल्तिर देख्नु भएको हुन सक्छ । यही कञ्जुस्याइँका कारण उनीहरूले प्रशस्त पैसा र धन जम्मा गरेको धेरैलाई लाग्न सक्छ । तर प्रश्न के उठ्छ भने सबै धनी कञ्जुस किन हुन्छन् ? धनीहरूको बानी नै कञ्जुस हुनु हो ? कि पैसा कमाउन थालेपछि मान्छे कञ्जुस हुन थाल्छन् ?

यो प्रश्नले तपाईंको मात्र होइन, संसारका अधिकांश मानिसको दिमाग खराब गरिदिएको छ । कतिसम्म भने विश्वविद्यालयका शोधकर्तासमेत यही प्रश्नमा रिंगिन थालेका छन् । र, यो प्रश्नको उत्तर खोज्न लागिपरेका छन् । सन् १९९३ मा अमेरिकाका केही छात्रहरूबीच एउटा प्रयोग गरियो । प्रयोग के थियो भने जो विद्यार्थी कलेज पढ्छ र बढी खर्च गर्छ, तीमध्ये को चाहिँ धनी हो ? अनि जे जवाफ पाइयो, त्यसले शोधकर्तालाई नै अचम्ममा पार्यो । कलेजमा अर्थशास्त्र पढिरहेकामध्ये अधिकांश विद्यार्थी ‘कञ्जुस’ देखिए । उनीहरू खर्च गर्न निकैबेर सोच्थे । उनीहरूको यो बानी एक किसिमको कञ्जुसी नै लाग्थ्यो । यस्तै मनोविज्ञान र इतिहास पढ्ने विद्यार्थीहरू भने दुवै हातले मज्जाले खुलेर खर्च गर्थे ।

यो शोधमा के पनि पाइयो भने ग्र्याजुएसन पढ्दै गरेका विद्यार्थीले सुरुवाती दिनमा खर्च गर्न निकै कञ्जुस्याइँ गर्ने गर्छन् तर जसै पढाइ सकिँदै जान्थ्यो, उनीहरूको खर्च गर्ने क्रम क्रमशः बढ्दै जान्थ्यो । तर अर्थशास्त्र पढिरहेका विद्यार्थीहरूका मामिलामा भने यस विषयमा कुनै परिवर्तन देखिएन ।
अर्थशास्त्र पढ्ने सबै विद्यार्थी खर्च गर्न कञ्जुस्याइँ गर्ने अर्थ पनि यसबाट निकाल्न मिल्दैन । अधिकांश विद्यार्थीहरूमा भने यस किसिमको चरित्र देखिन्थ्यो । केही विद्यार्थी मज्जैले खर्च त गर्थे तर उनीहरूको संख्या निकै कम हुन्थ्यो ।

जो धनी छ, ऊ उदार पनि छ
अन्य विविध किसिमका शोधले के पनि देखाएको छ भने धनीहरू गरिबका तुलनामा बढी परोपकारी हुन्छन् । लन्डनमा गरिएको एउटा शोधले सो कुरा देखाएको हो । केही शोधकर्ताहरूले लन्डनका विभिन्न २० वटा ठाउँमा सडकमा टिकट लगाइएको चिठ्ठी यत्रतत्र छरिदिए । यस घटनामा रोचक के भयो भने विम्बल्डन जस्तो अति धनी बस्ने क्षेत्रमा फ्याँकिएका चिठ्ठीमध्ये ८७ प्रतिशत चिठ्ठी मानिसले सही ठाउँमा पुर्याइदिए । अनि सेडवेल जस्तो ज्यादै गरिब बस्तीमा फ्याँकिएका त्यस्तै चिठ्ठीहरूको ३७ प्रतिशत मात्र सही ठाउँमा पुर्याइए ।

धनी हुने चरित्रका मानिसको अर्को एउटा काम पनि गज्जबको देखिन्छ । धनी घरका सन्तानले अरुलाई भलाइ गर्ने कुरामा आफूलाई फाइदा हुन्छ कि हुँदैन भन्ने कुरालाई उति मतलब गर्दैनन् । अमेरिकाको जर्ज टाउन युनिभर्सिटीका प्राध्यापक एबिगेल मार्स र क्रिस्टिन हारबिट्सले गरेको एउटा शोधमा के पाए भने अमेरिकामा अञ्जान व्यक्तिलाई मिर्गौला दान दिने आँकडा हरेक राज्यमा बेग्लाबेग्लै छ तर जुन राज्यमा मानिसको आम्दानी बढी थियो, त्यहाँका मानिसले बढीभन्दा बढी मिर्गौला दान गरेको पाइयो ।
त्यसो त यसको अर्थ धनी मानिसमा मात्र अंग दान गर्ने भावना बढी हुन्छ भन्ने होइन । जो राम्रो क्षेत्रमा बस्छन्, जो धनी छन् उनीहरूलाई मात्र आफूलाई स्वस्थ राख्न कति धेरै पैसा खर्च हुन्छ भन्ने थाहा हुन्छ । त्यसैले उनीहरूको मनमा अरूप्रति असल काम केही गरी अप्ठेरो सुल्झाऊँ भन्ने चाहना निकै गहिरो हुन्छ ।
अमेरिकाको बर्कले विश्वविद्यालयका प्राध्यापक पल पिफले गरेको एउटा अनुसन्धानको निष्कर्ष यसरी सुनाउँछन्, ‘कहिलेकाहीँ दुईजना व्यक्तिमध्ये को बढी बाँच्ने भन्ने विषय आयो भने धनीहरू सुरुमा आफू बाँच्नुपर्ने कुरामा जोड दिन्छन् । यसमा उनीहरूको तर्क के हुन्छ भने म बाँचे, अरूलाई पनि बचाउन सक्छु । आफू कहिल्यै गलत नहुने र हरेक कुरामा सकारात्मक पक्ष खोज्ने उनीहरूको भावना र बानी हुन्छ ।’
पलले एउटा शोध गरेका थिए । उनले करिब दुई लाख डलर वार्षिक रूपमा कमाउनेलाई दस डलर दिए । यो दस डलरमध्ये उनीहरू राख्न पनि सक्छन् र दान पनि दिन सक्छन् ।

के पाइयो भने जो पिफको शोधमा सामेल हुनुअघि नै जो धनी थिए उनीहरू दान गर्नमा उदार देखिए । पिफ भन्छन्, ‘कहिलेकाहीँ पैसाले फिटफिटी परेका बेला मानिस लोभी हुन सक्छ, उसले अरूप्रतिको भलाइ बिर्सन सक्छ तर मैले यति गर्दा अरूको भलाइ हुन्छ भने किन नगर्ने भन्ने भावना ल्याउने पैसा नै हुन्छ ।’
अमेरिकाको सान फ्रान्सिस्कोमा शोध गर्दा पिफले के पाए भने त्यहाँका ठूला कार चालक (धनी) कारबाट निस्केर सहयोग गर्न निकै कम आएका थिए । जबकि सस्तो कार चलाउने चालकहरू अरूको सहयोगका लागि सक्रियतापूर्वक लागेका थिए । तर त्यो गाडी ड्राइभरले चलाइरहेको थियो कि मालिकले भन्ने स्पष्ट खुल्न सकेन । त्यसैले पिफले यस अनुसन्धानलाई एउटा सहायक अनुसन्धानका रूपमा मात्र लिएका छन् ।

जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयका प्राध्यापक स्टिफन ट्रटम्यान भन्छन्, ‘कुनै व्यक्ति परोपकारी हुनु भनेको अन्तरविरोधको विषय हो । कैयौँ उदाहरणको अन्त्यमा के देखियो भने धनी मानिस नै उदार भएर सहयोग गर्छन् भन्ने कुरा कतै कतै मात्र देखिन्छ, सबैतिर त्यस्तो हुन्छ भन्ने छैन । धनी मानिस अन्य गरिब मानिसजस्तै साह्रै कञ्जुस पनि हुन सक्छन् । गरिब मानिस कञ्जुस हुन्छन् भन्नु पनि गलत हुन्छ किनभने ऊसित खर्च गर्ने पैसा नै हुँदैन भने कसरी अरूको भलाइका लागि काम गरोस् ! कसैसित पैसा छ तर खर्च गर्दैन भने ऊ कञ्जुस हुन्छ, होइन र ?’

यी सबै उदाहरणको एउटै निचोड के हो भने न त सबै धनी परोपकारी हुन्छन् न त सबै गरिब कञ्जुस ! फराकिलो हृदय त संवेदनशीलतासँग जोडिएको हुन्छ । पैसा खर्च गर्नका लागि कम्तीमा पनि तपाईंसँग पैसा त हुनुप¥यो नि ! त्यसैले सम्पत्तिवाला नै बढी उदार देखिनु स्वाभाविकै हो किनभने उनीहरूसित खर्च गर्ने पैसा हुन्छ । आम्दानीका रूपमा उनीहरूसँग यति धेरै पैसा हुन्छ कि उनीहरूले गर्ने दान निकै कम नै हुन्छ । यो संसारमा आफूलाई एक रत्ति पैसा नराखी दान गर्ने मानिस कति नै हुन्छन् र ?

source:शुक्रवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel